नियम १२
संरक्षण अधिकृतको व्यवस्था

(१) घरेलु हिंसा नियन्त्रण गर्ने सम्बन्धमा समन्वय गर्ने कार्य समेतको लागि प्रत्येक महिला विकास कार्यालयमा एकजना महिला संरक्षण अधिकृत रहनेछ ।

(२) उपनियम (१) बमोजिम संरक्षण अधिकृतको व्यवस्था नभएसम्म सम्बन्धित महिला विकास अधिकृतले संरक्षण अधिकृतको समेत काम गर्नेछ ।
(३) उपनियम (१) बमोजिमको संरक्षण अधिकृतको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) घरेलु हिंसा नियन्त्रण गर्ने सम्बन्धमा जिल्लास्तरमा सम्पर्क विन्दुको रुपमा काम गर्ने,
(ख) उजुरी सुन्ने निकाय र सेवा केन्द्रसँग समन्वय कायम राख्ने,
(ग) पीडितलाई कानूनी सहायता प्रदान गर्ने,
(घ) पीडित र पीडकलाई आवश्यकतानुसार मनोविमर्श एवं मनोवैज्ञानिक सेवा उपलब्ध गराउने,
(ङ) घरेलु हिंसाको विवरण अध्यावधिक गर्ने,
(च) मन्त्रालयले तोकेका अन्य कार्यहरु गर्ने ।
(४) पीडितलाई कानूनी सहायता प्रदान गर्ने प्रयोजनको लागि मन्त्रालयले आवश्यकता अनुसार कानूनी सहायता समिति गठन गर्न सक्नेछ ।
(५) उपनियम (४) बमोजिमको कानूनी सहायता समितिको गठन प्रक्रिया तथा काम, कर्तव्य र अधिकार मन्त्रालयले तोके बमोजिम हुनेछ ।